झोलुङ्गे पुलको नाम जुराउनेलाई रु २५००० पुरस्कार

Baglung suspension bridge

काठमाडौ । बाग्लुङको बाङ्गेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने पुलको नाम जुराउनेले नगद रु २५ हजार पुरस्कार स्वरुप पाउने भएको छ। ५६७ मिटर लम्बाई भएको झोलुङ्गे पुल गत साउनदेखि नै सञ्चालनमा छ। तर त्यो पुलको उपयुक्त नाम भने राखिएको थिएन। कालीगण्डकी नदीमाथि बनाइएको यो पुलले बाग्लुङ र पर्वत जिल्लालाई जोड्छ।

सरकारको ११ करोड लागतमा बनेको उक्त पुल बनाउन चीनबाट झोलुङ्गे पुलको लठ्ठा तान्ने मेसिन मागाइएको नगरपालिकाका मेयर जनकराज पौडेल बताए। बागलुङ नगरपालिकाले उक्त पुललाई विश्वकै लामो झोलुङ्गे पुल भएको दाबी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा समेत उक्त पुलको नाम लेखाउने पहल गरिएको बताएको छ।

पुल संसारकै लामो भएकाले युनिक पहिचानको लागि केही नाम दिनु पर्ने मेयर पौडेलको तर्क छ। त्यसैगरी पुलको नाम राखिदा प्रचार गर्न पनि सजिलो पर्ने भएकाले पनि नामाकरण गर्ने सोच राखिएको हो। नाम जुराउनको लागि नगरका उप-प्रमुखको अध्यक्षतामा समिति पनि गठन भइसकेको छ

पुलको नामको लागि सुझावहरु आउन थालिसकेको र छिटै नामको टुङ्गो लाग्ने बताइएको छ। पुलको नाम सुझावहरुबाटै छानिने र उक्त नाम सुझाव गर्नेलाइ नगद रु २५००० प्रदान गरिने छ।

बागलुङ ५ सयभन्दा बढी झोलुङ्गे पुलसहित झोलुङ्गे पुलको जिल्ला भनेर प्रख्यात छ भने अब यो जिल्लामा विश्वकै लामो झोलुङ्गे पुल पनि बनिसकेको छ।

Scroll to Top